26th July 2026, Sunday

आमचाेक गाउपालिकाकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

2 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image
भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। आइतबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका विकास निर्माणका काम, सेवा प्रवाह, सञ्चालित योजना तथा नीतिगत निर्णयबारे स्थानीय नागरिकलाई जानकारी गराएको हो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले चालु आर्थिक वर्षकाे अवधिसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजना, सेवा प्रवाह तथा बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी गराउनुभयो।

कार्यक्रममा स्थानीयवासीले विकास निर्माण, सेवा प्रवाह, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत सार्वजनिक सरोकारका विषयमा जिज्ञासा, सुझाव तथा गुनासा राखेका थिए। उठाइएका प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष अशोक राई, उपाध्यक्ष सीता राई, प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेत तथा विषयगत शाखाका प्रमुखहरूले जवाफदेही व्यक्तिका रूपमा दिनुभएको थियो।

कार्यक्रममा अध्यक्ष अशोक राईले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी योजना तथा नीति निर्माणमा समावेश गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताउनुभयो। उहाँले गाउँपालिकाले पारदर्शिता, सुशासन र समग्र विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो।

उपाध्यक्ष सीता राईले स्थानीयवासीबाट प्राप्त रचनात्मक सुझावले गाउँपालिकाको विकासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नागरिक सहभागितासहित विकासका कार्यक्रमलाई निरन्तर अघि बढाइने बताउनुभयो।

गाउँपालिकाले गत असार ११ गतेदेखि वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गरेको थियो। सोही कार्यक्रमअन्तर्गत सबै वडामा सार्वजनिक सुनुवाइ सम्पन्न गरेपछि आइतबार पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण छुपलायु मिडिया प्रालि, भोजपुरले गरेको थियो।

मुख्य समाचार

No active ad available.


No active ad available.