23rd October 2026, Friday

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन

3 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय नेता घनेन्द्र बस्नेतको ७१ वर्षको उमेरमा निधन भएको छ।

फोक्सो र घाँटीको क्यान्सरबाट पीडित बस्नेतको बुधबार भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको निधन भएको भाञ्जा सञ्जीव रोकाहाले पुष्टि गरेका छन्।

क्यान्सर देखिएपछि लामो समयदेखि उपचाररत बस्नेतको नेपालसँगै भारतमा समेत उपचार गरिएको थियो। भारतबाट नेपाल फर्किएपछि केही समय उनलाई घरमै राखिएको थियो। स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो।

उपचारका लागि आर्थिक समस्या भएपछि केही समयअघि बस्नेतको उपचार सहयोगार्थ ‘घनेन्द्र बस्नेत जीवन रक्षा अभियान’ समेत सञ्चालन गरिएको थियो।

१७ वर्ष जेलमा बिताएका थिए

बस्नेत किशोर अवस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय थिए। उनी झापा किसान विद्रोहमा सहभागी भएका थिए। राजनीतिक गतिविधिमा संलग्न रहेको आरोपमा २१ वर्षको उमेरमा पक्राउ परेका उनले आफ्नो राजनीतिक जीवनको करिब १७ वर्ष जेलमै बिताएका थिए।

जेलमुक्त भएपछि पनि बस्नेत वामपन्थी राजनीतिबाट अलग भएनन्। उनले कम्युनिस्ट आन्दोलनका विभिन्न चरणमा पार्टीका जिम्मेवारी सम्हाल्दै आएका थिए।

नेकपा विभाजनका बेला उनी तत्कालीन प्रचण्ड–नेपाल समूहअन्तर्गत प्रदेश नम्बर १ को अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए। पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादीसँग आबद्ध भई वरिष्ठ नेताका रूपमा सक्रिय थिए।

झापा किसान विद्रोहदेखि कम्युनिस्ट आन्दोलनका विभिन्न चरणसम्म सक्रिय रहेका बस्नेतले आफ्नो जीवनको लामो समय राजनीतिक संघर्षमा बिताएका थिए। उनको निधनसँगै नेपालको वामपन्थी आन्दोलनले पुराना राजनीतिक कार्यकर्ता गुमाएको छ।



No active ad available.