24th January 2026, Saturday

##sudhan#dashain#

सुदन किरातीको यस वर्षको दशैँ : अशक्तलाई घरको छानो उपहार

3 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर – माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किरातीले यस वर्षको दशैँ भोजपुरका एक अशक्त नागरिकलाई घरको छानो उपहार दिने घोषणा गरेका छन्।

भूमिगत राजनीति गरेको समयदेखि नै परिवारसँग दशैँ नमनाउने किराती २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएपछि हरेक वर्षको दशैँ खर्च सामाजिक कार्यमा खर्च गर्दै आएका छन्। यस वर्ष भने उनले भोजपुर नगरपालिका–१ डाँडाबोखिमका एक्लै बस्दै आएका अपाङ्ग भरत राईको घरमा जस्ताको छानो हालिदिने घोषणा गरेका हुन्।

किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, “हरेक वर्षको दशैँ खर्चले सामाजिक काम गर्दै आएको छु। यस वर्ष पनि डाँडाबोखिम निवासी, अपाङ्ग जीवन बिताइरहनु भएका भरत राईको घरमा जस्ताको छानो हाल्ने निर्णय गरेको छु। पोहोर दशैँमा भेट हुँदा उहाँले दुई कुरा भन्नु भएको थियो – पानी पर्दा घर चुहिने चिन्ता र जस्ताको छानो हालेर विवाह गर्ने सपना। अब कृपया कमेन्टमा ‘विवाह पनि गरिदेउ’ भनेर नलेखिदिनु होला।”

उनका अनुसार छानो हाल्ने काम दशैँअघि नै सम्पन्न गर्ने योजना भए पनि परिस्थितिले ढिलो भएको र दशैँपछि तुरुन्त निर्माण हुने बताइएको छ।

यसअघि २०८१ सालमा किरातीले सहिद परिवारलाई घर निर्माण गरिदिएका थिए। २०८० सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहँदा मैयुङका भेडा र चौरीपालक गोठालाहरुलाई सम्मान गरेर दशैँ मनाएका थिए। त्यस्तै २०७९ मा अरुण गाउँपालिका स्थित विद्यालयमा सरसफाई तथा रंगरोगन गरेर दशैँ मनाएका थिए भने २०७८ मा रामप्रसादराई गाउँपालिका–१ ओख्राका दलित परिवारलाई सम्मान गरेका थिए।

किरातीले प्रत्येक वर्ष दशैँलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विपन्न र अपाङ्ग नागरिकसँगै मनाउने परम्परा निरन्तरता दिँदै आएका छन्।



No active ad available.

अन्य खबर


No active ad available.