17th April 2026, Friday

पौवादुङ्मामा बृहत् विराट ज्ञानमहायज्ञ तथा सांस्कृतिक महोत्सव हुँदै

1 हप्ता अगाडी

News by: खुल्ला आवाज

No active ad available.

Post Image

भोजपुर – भोजपुरको पूर्वी पौवादुङ्मा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा बृहत् विराट ज्ञानमहायज्ञ तथा सांस्कृतिक महोत्सव २०८३ आयोजना गरिने भएको छ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको च्याङ्ग्रे पोखरी परिसरमा अवस्थित पञ्चकन्या देवीको दुई तले कलात्मक मन्दिर निर्माण गर्ने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको हो।

विराट ज्ञानमहायज्ञ मूल समिति पौवादुङ्माको आयोजनामा आगामी वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक पूजाआजा, कथा वाचन, भजन–कीर्तन तथा विविध सांस्कृतिक कार्यक्रमहरू गरिने आयोजकले जनाएको छ।

साथै, निःशुल्क योग तथा स्वास्थ्य शिविर, जलमहाभिषेक दर्शन लगायतका कार्यक्रम पनि सञ्चालन हुनेछन्।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार मन्दिर निर्माणका लागि तीन करोड रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ। उहाँले सरकारी बजेटभन्दा बढी नागरिक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको धार्मिक सहयोगबाट मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।

महोत्सवलाई व्यवस्थित बनाउन मूल आयोजक समितिसँगै विभिन्न उपसमितिहरू गठन गरिनेछन्। झापा, मोरङ, सुनसरी र काठमाडौंमा समेत सहयोग उपसमितिहरू निर्माण गरिने योजना रहेको छ।

प्रत्येक वडामा वडा अध्यक्षको नेतृत्वमा संरचना तयार गरिने र सम्पूर्ण पालिका टिम नै अभियानमा सक्रिय रहने बताइएको छ।

महोत्सव अवधिभर बिहान–बेलुका आरती, ९ दिने धार्मिक कार्यक्रम, कथा प्रवचन लगायतका गतिविधि सञ्चालन हुनेछन्। महायज्ञमा आचार्य सोमनाथ कोइरालाले कथावाचन गर्ने कार्यक्रम तय गरिएको छ।

यस्तै, आर्थिक समिति, ब्राह्मण तथा पूजापाठ समिति, योग तथा स्वास्थ्य शिविर व्यवस्थापन समिति, धर्म–संस्कृति प्रवर्द्धन समिति लगायतका संरचनाहरू निर्माण गरिनेछन्। “जन्मभूमि दर्शन अभियान” अन्तर्गत बाहिर रहेका स्थानीयलाई पनि सहभागिताका लागि आह्वान गरिनेछ।

मन्दिर निर्माणमा स्थानीय नागरिकको प्रमुख लगानी रहने र आवश्यक परे गाउँपालिकाले ५० प्रतिशतसम्म सहयोग गर्ने तयारी रहेको जनाइएको छ।

च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या पोखरी संरक्षण समितिको सक्रियतामा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। साथै, पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डसँग सहकार्य गर्ने पहल पनि गरिनेछ।

सोमबार गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी गराउँदै आयोजकले पुण्य कार्यमा सहभागी हुन सबैलाई अनुरोध गरेको छ।

दाताहरूलाई सम्मानस्वरूप नामावली मन्दिर परिसरमा राखिने समेत जनाइएको छ।

No active ad available.


No active ad available.