17th April 2026, Friday

पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन भोजपुरको चखेवामा रैथाने खाना महोत्सव हुँदै

2 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर, रैथाने खाना तथा स्थानीय संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ भोजपुरको चखेवामा रैथाने खाना महोत्सव आयोजना हुने भएको छ।



टेम्केमैयुङ गाउँपालिका, पदमार्गमा आधारित पर्यटन विकास परियोजना (TTDP) र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा उक्त महोत्सव हुन लागेको हो।

मुन्दुम पदमार्गअन्तर्गत पर्ने पर्यटकीय क्षेत्र चखेवामा चैत्र ३० गतेदेखि बैशाख २ गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ।



महोत्सवको मुख्य उद्देश्य स्थानीय रैथाने परिकार तथा कृषि उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्नुका साथै मुन्दुम पदमार्गको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनु रहेको चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष विवेक कुलुङ राईले जानकारी दिए।



टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार महोत्सवले रैथाने खानाको संरक्षण, पर्यटन विकास र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



महोत्सवमा करिब २० वटा स्टल रहनेछन्। ती स्टलहरूमा कृषि उत्पादन, स्थानीय उद्यम, हस्तकला (राडीपाखी) तथा विविध रैथाने परिकारहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन्। कोदो, फापर, भुटेको मकै, गुन्द्रुक, सिस्नो लगायतका परिकारसँगै स्थानीय रूपमा उत्पादन गरिएका भेडा, सुँगुर र कुखुराका परिकारहरू पनि आकर्षणका रूपमा रहनेछन्।



नेपाल सरकारले देशभित्र घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको मुन्दुम पदमार्ग तथा चखेवा भञ्ज्याङ, टेम्क र मैयुङ क्षेत्रको प्रचारप्रसारमा पनि महोत्सवले टेवा पुर्‍याउने विश्वास लिइएको छ।



यससँगै गाउँपालिकाले मुन्दुम ट्रेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विभिन्न पर्यटन प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

No active ad available.


No active ad available.