News by: Khulla Awaj
No active ad available.
भोजपुर । ३४ वर्षअघि भोजपुरमा एक पुरूषको हत्या गरी भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
भोजपुर साविक दोभाने गाविस–८ का चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको डिएसपी सुदीपराज पाठकले जानकारी दिए । उनले २०४६ कात्तिक १७ गते २७ वर्षीय बद्रीकुमार राईको हत्या गरेको आरोप छ । बद्रीकुमार वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष रामनाथ राईको घरमा सुतिरहेका थिए।
बद्रीकुमार वडाध्यक्षको घरमा सुतिरहेको थाहा पाएपछि चक्रबहादुरसहित चार जनाको समूह उक्त घरमा पसेका थिए। घरेलु हतियारले बद्रीकुमारका विभिन्न अंगमा प्रहार गरी गम्भीर घाइते बनाएको डिएसपी पाठकले बताए । गम्भीर घाइते बनाएपछि उनीहरूले बाँया हातसमेत छिनाएर लगेका थिए । बद्रीकुमारलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।
त्यसयता चक्रबहादुरसहितको समूह फरार थियो। यस मुद्दामा मृतकका परिवारले चक्रबहादुरसहित चार जनाविरूद्ध जाहेरी दिएका थिए। अनुसन्धान हुँदा २०६० जेठ २७ गते जिल्ला अदालतले उनीहरूलाई सर्वस्वसहित जन्म कैद सजाय ठहर गरेको थियो।
घटना भएपछि चक्रबहादुर लामो समय भारतमा लुकेर बसेका थिए। उनको परिवार पनि भोजपुरबाट बसाइँ सरेर सुनसरीस्थित इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्न थालेका थिए। त्यसैबीच चक्रबहादुर पनि यो घटना सेलाएको हुनसक्ने र परिवार बस्ने ठाउँ पनि स्थानान्तरण भएको हुँदा केही वर्षअघि नेपाल फर्किएका थिए।
‘परिवारसहित उनीहरू इटहरी बस्न थालेका रहेछन्। घटना भएको पनि लामो समय भयो, अब सेलायो भनेर भारतबाट फर्किएका रहेछन्,’ डिएसपी पाठकले भने। घर फर्किएर उनले पनि सुँगुर पालनको व्यवसाय थालेका थिए। त्यसैबीच प्रहरीले सुराकीको आधारमा उनलाई शुक्रबार पक्राउ गरेको हो। यसबारे प्रहरीले आइतबारमात्रै पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रहरीले चक्रबहादुरमाथि प्रारम्भिक सोधपुछसमेत गरेको छ। त्यसक्रममा आफूहरूले हत्या गरेको समेत स्वीकार गरिसकेको डिएसपी पाठकले बताए। अहिले प्रहरीले यही घटनामा संलग्न व्यक्तिहरूको पनि खोजी गरिरहेको छ ।
प्रहरीले बद्रीकुमारको शव फेला पारे पनि हत्यापछि काटेर लगेको हात भने फेला परेको थिएन। चक्रबहादुरले हात काटेर अर्कै व्यक्तिले फ्याँक्न लगेको बताएका छन्। तर कहाँ फ्याँकेको आफूलाई थाहा नभएको पनि उनले बताए।वडाध्यक्षकै घरमा बसेका बद्रीकुमारको हत्यामा राजनीतिक कारण पनि हुनसक्ने प्रहरीको बुझाइ छ। प्रहरीले यसमा सजाय कार्यान्वयनको लागि जिल्ला अदालत भोजपुरमा पेश गर्ने तयारी गरेको छ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना
भोजपुर नगरपालिका ५ बोखिममा चाेरी