3rd December 2024, Tuesday

डेढ वर्षभित्र पूरै देश उज्यालो हुन्छ - प्रधानमन्त्री दाहाल

11 महिना अगाडी

News by: खुल्लाआवाज संवाददाता

No active ad available.

Post Image

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गरेका छन् ।

शनिबार जनतासँग माओवादी विशेष रुपान्तरणअन्तर्गत काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डेढ वर्षभित्र एउटा पनि घर विद्युत नपुगेको नहुने जिकिर गरे । उनले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको बताए । प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भए पनि त्यसको प्रचार गर्न नसकेको बताए । उनले लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी गरे ।

‘अहिले तेस्रो पटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिंगै देशमा एउटा पनि घर विद्युत नपुगेको रहने छैन । डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ । यो लक्ष्यसहित हामी अघि बढेका छौँ ।’ उनले भने ।

प्रधानमन्त्री दाहालले भूमि सम्बन्धी, सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासीका समस्या समाधानका लागि चाँडै नै नयाँ ऐन जारी गर्न लागेको बताए । उनले नयाँ ऐन जारी गर्नका लागि राजनीतिक सहमति जुटिसकेको र सरकारमा पनि छलफल भइसकेको बताए ।

प्रधानमन्त्री दाहालले नयाँ ऐन आएसँगै लालपुर्जा वितरणको एउटा नयाँ अभियान सुरु हुने उद्घोष गरे । ५० औं वर्षदेखिका अव्यवस्थित बसोबासीका, स्वबासीका समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था भइरहेको बताए । उनले ऐनमा भएका केही त्रुटीका कारण यो समस्या आइरहेको र अहिले आफूले समस्या फुकाउन लागेको बताए ।

‘लालपुर्जा वितरणको एउटा नयाँ अभियान सुरु हुँदैछ । म तपाईंहरुलाई यो विश्वास दिलाउन चाहन्छु । यो समस्याको समाधान गर्न एक वर्षदेखि पहल गर्दा ऐनमा भएका केही त्रुटीका कारणले रोकिएको थियो,’ उनले भने, ‘उपत्यका बाहेकका बाँकी जिल्लामा वन र भूमि ऐन आपसमा बाझिँदा यो समस्या थियो । त्यो गाँठो यस पटक मैले फुकाउँदैछु । त्यसमा राजनीतिक सहमति जुटिसकेको छ, सरकारमा चर्चा भइसकेको छ, छिटै नै तपाईंले देख्नुहुनेछ । ५० औं वर्षदेखिका समस्या, अव्यवस्थित बसोबासी, स्वबासीको समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था हुँदैछ ।’

प्रधानमन्त्री दाहालले देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमान्दारितापूर्वक लड्ने पार्टी माओवादी भएको बताए । सबैको साथ रहेमा अर्को पटकको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने दाहालको भनाइ थियो ।



No active ad available.