News by: Khulla Awaj
No active ad available.
भोजपुर । किसानले वर्षौंदेखि भोग्दै आएको बाँदर आतंक नियन्त्रण गर्न भोजपुरको पौवादुङमा गाउँपालिका ले नयाँ रणनीति अघि सारेको छ।
बालीमा भइरहेको क्षति न्यूनीकरण गर्दै कृषि उत्पादन संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।
पछिल्लो समय गाउँपालिकाका विभिन्न वडामा बाँदरको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेष गरी मकै, कोदो, आलुलगायतका बालीमा बाँदरले ठूलो क्षति पुर्याउँदै आएका छन्।
बाँदरका कारण उत्पादन घट्नुका साथै किसानको श्रम र लगानीसमेत खेर जाने गरेको स्थानीय किसानहरूको गुनासो छ। यस समस्याले किसानलाई आर्थिक मात्र होइन, मानसिक रूपमा समेत प्रभावित बनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार संघीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेको अवस्थामा गाउँपालिकाले पनि सोही नीतिसँग समन्वय गरेर कार्यक्रम अघि बढाउने तयारी गरेको छ।
कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाले रु. ५ लाख बजेटसमेत विनियोजन गरेको उहाँले जानकारी दिनुभयो।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बाँदर समस्या किसानका लागि प्रमुख चुनौतीका रूपमा रहेको बताउँदै दीर्घकालीन समाधानका लागि बन्ध्याकरण कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार बन्ध्याकरणमार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी समस्या समाधानतर्फ ठोस पहल गरिनेछ।
मंगलबारदेखि सुरु भएको गाउँसभाको १९औँ अधिवेशनमार्फत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान तथा बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो।
“बाँदर किसानको जटिल समस्या बनेको छ,” अध्यक्ष राईले भन्नुभयो, “बाँदर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ। संघीय सरकारसँगको समन्वयमा प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य छ।”
गाउँपालिकाका अनुसार बन्ध्याकरण कार्यक्रम सञ्चालनका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ।
यस कार्यक्रमले बाँदरको अनियन्त्रित वृद्धि रोक्न मद्दत गर्नुका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा किसानको बाली संरक्षणमा सुधार आउने, कृषि उत्पादन वृद्धि हुने तथा ग्रामीण अर्थतन्त्र सुदृढ बन्ने विश्वास गाउँपालिकाले लिएको छ।
बाँदर नियन्त्रणको दीर्घकालीन र वैज्ञानिक उपायका रूपमा बन्ध्याकरण कार्यक्रमलाई अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’