16th November 2025, Sunday

भोजपुरमा सवारि आवागमनमा निषेध

1 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर — लगातारको भारी वर्षा, चट्याङ र पहिरोका कारण भोजपुर जिल्लामा जनजीवन प्रभावित बनेको छ। बढ्दो विपद् जोखिमका कारण जिल्ला प्रशासन कार्यालय भोजपुरले आजदेखि मध्यपहाडी लोकमार्गको भोजपुर खण्ड र नदी किनारका सबै ग्रामीण सडकमा सवारी आवागमन निषेध गर्ने निर्णय गरेको छ।


जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीद्वारा जारी सूचनामा भनिएको छ, “लगातारको वर्षा र पहिरोका कारण भोजपुर–खाँदबारी खण्डको ठूला–ठूला स्थानमा सडक अवरुद्ध भएको छ। जिल्लाभित्रका ग्रामीण सडकहरूमा समेत जोखिम बढेकाले बिहान ९ बजे सम्म सवारी आवागमन निषेध गरिएको हो।”


सूचनामा मध्यपहाडी लोकमार्ग (लेगुवा–चखेवाससम्म) र नदी किनारका सबै ग्रामीण तथा जिल्लास्तरीय सडकमा सावधानी अपनाउन अनुरोध गरिएको छ। अत्यावश्यक सेवाका सवारी साधन (जस्तै एम्बुलेन्स, विपद् व्यवस्थापन र सुरक्षासम्बन्धी सवारी) मात्र सावधानीपूर्वक सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ।

र याे पनि

यसअघि जिल्लाका विभिन्न स्थानमा परेको चट्याङ र पहिरोका कारण जनधनको क्षति भएको प्रहरीले जनाएको छ।

हतुवागढी गाउँपालिका–४, आइरेलेमा चट्याङ लागेर लालबहादुर तामाङको गोठमा बाँधिएका गाईभैंसी मरेका छन्। उक्त घटनाबाट करिब एक लाख अर्चालिस हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।


त्यस्तै, रामप्रसाद राई गाउँपालिका–४ सहेलेमा पहिरोले नरबहादुर तामाङको गोठ पुर्दा बाछाको मृत्यु भएको छ। सो घटनामा करिब २० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।


भोजपुर नगरपालिका–५ बोखिम मुढेमा चट्याङको झिल्काले १४ वर्षीया इन्दिरा तामाङ घाइते भएकी छन्। उनको अवस्था सामान्य रहेको जिल्ला अस्पताल भोजपुरले जनाएको छ।

टेम्केमैयुङ गाउँपालिका–३ नाम्दालुङमा रुद्रबहादुर खत्रीको घर नजिकै परेको चट्याङले घर, सोलार र विद्युत् उपकरणमा क्षति पुर्‍याएको छ भने छिमेकी कमला खत्री बेहोस भएकी थिइन्।

अरुण गाउँपालिका–१ देउरालीमा बुद्धदेव कोईरालाको घरमा चट्याङले बिजुलीको पोल र उपकरण क्षति पुर्‍याएको छ। घटनामा कुनै जनहानि नभए पनि करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ।


प्रहरीका अनुसार यी सबै घटनामा प्रहरी टोलीले स्थलगत निरीक्षण गरी विवरण संकलन गरेको छ। प्रशासनले वर्षायाममा जोखिमयुक्त स्थानहरूमा नजान र सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ।





No active ad available.


No active ad available.