24th June 2026, Wednesday

भोजपुरमा सुरक्षित आप्रवासन कार्यक्रम : सुरक्षित वैदेशिक रोजगारीतर्फको प्रभावकारी पहल

22 घण्टा अगाडी

News by: खुल्ला आवाज, भाेजपुर

No active ad available.

Post Image

भोजपुरमा सञ्चालन भइरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सूचना–आधारित बनाउन सफल देखिएको छ।

नेपाल सरकार, स्वीस सरकार, प्रदेश सरकार तथा जिल्लाका नौवटै स्थानीय तहको लागत साझेदारीमा सञ्चालित यस कार्यक्रमले वैदेशिक रोजगारीमा जाने नागरिकलाई आवश्यक सूचना, परामर्श, कानुनी सहायता, वित्तीय साक्षरता तथा मनोसामाजिक सहयोग प्रदान गर्दै आएको छ।

सन् २०१९ देखि सञ्चालनमा रहेको कार्यक्रममार्फत चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २ हजार ६ सय ७७ जनाले वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा प्राप्त गर्नु कार्यक्रमको प्रभावकारिताको महत्वपूर्ण प्रमाण हो।

विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई वैदेशिक रोजगारीका अवसर, प्रक्रिया, सम्भावित जोखिम र अधिकारबारे जानकारी प्रदान गरेर कार्यक्रमले सुरक्षित आप्रवासन संस्कृतिको विकास गर्न उल्लेखनीय योगदान दिएको छ।

कार्यक्रमले ठगी, शोषण तथा अन्य जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा सञ्चालन गरेका सचेतनामूलक गतिविधिहरू अत्यन्त प्रभावकारी बनेका छन्।

वित्तीय साक्षरता तालिम, विद्यालय तथा समुदायस्तरीय अभिमुखीकरण कार्यक्रमले वैदेशिक रोजगारीमा जाने नागरिक मात्र होइन, उनीहरूका परिवारलाई समेत सचेत र सक्षम बनाएको छ।

वैदेशिक रोजगारीका क्रममा उत्पन्न समस्याहरू समाधान गर्न तथा पीडित श्रमिकलाई आर्थिक क्षति फिर्ता दिलाउन कार्यक्रमले खेलेको भूमिका प्रशंसनीय छ।

पीडित श्रमिकलाई एक करोडभन्दा बढी रकम फिर्ता गराउनु कार्यक्रमको उपलब्धिमध्ये एक महत्वपूर्ण सफलता हो। त्यस्तै, मनोसामाजिक परामर्श सेवामार्फत धेरै व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल हुनु कार्यक्रमको अर्को उल्लेखनीय पक्ष हो।

जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूबीचको समन्वय र सहकार्यका कारण कार्यक्रम अझ प्रभावकारी बनेको देखिन्छ।

वैदेशिक रोजगारीलाई केवल रोजगारीको माध्यम मात्र नभई सुरक्षित, मर्यादित र लाभदायक बनाउने दिशामा सामी कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

भोजपुरका नागरिकलाई सुरक्षित वैदेशिक रोजगारीका लागि सशक्त बनाउँदै आएको यस कार्यक्रमप्रति नेपाल सरकार, स्वीस सरकार, स्थानीय सरकार, कार्यक्रम कार्यान्वयनमा खटिएका जनशक्ति तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन हुँदै वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानजनक बनाउन थप योगदान पुग्ने विश्वास लिइएको छ।


No active ad available.


No active ad available.