News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुर — गत केही दिनदेखिको अविरल वर्षासँगै आएको चट्याङ र पहिरोका कारण भोजपुरका विभिन्न स्थानमा जनधनको क्षति भएको छ। कोशी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी इकाइहरूले दिएको विवरण अनुसार जिल्लाका पाँच स्थानमा अलग–अलग घटनाबाट पशु चौपाय, घरगोठ र विद्युत् उपकरणमा क्षति पुगेका छन्।
हतुवागढी गाउँपालिका–४, आइरेलेमा परेको चट्याङले स्थानीय लालबहादुर तामाङको गाईगोठमा बाँधिएको ब्याउने भैंसी, दुहुनो गाई र कोरोली गाईको मृत्यु भएको छ। घटनाबारे सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक बिक्रम खनालको कमाण्डमा टोली खटिँदा करिब एक लाख अर्चालिस हजार रुपैयाँ बराबरको क्षति भएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। उक्त स्थान घोडेटारबाट करिब तीन किलोमिटर पश्चिम पर्छ।
यस्तै रामप्रसाद राई गाउँपालिका–४, सहेलेमा पहिरोले नरबहादुर तामाङको गाईगोठ पुर्दा गोठमा बाँधिएको बाछाको मृत्यु भएको छ। इलाका प्रहरी पोष्ट दलगाँउबाट खटिएको प्रहरी टोलीका अनुसार उक्त घटनामा करिब बीस हजार रुपैयाँ बराबरको क्षति भएको र मानवीय क्षति नभएको बताइएको छ। उक्त स्थान दलगाँउबाट पाँच किलोमिटर दक्षिणमा पर्छ।
भोजपुर नगरपालिका–५, बोखिम मुढेमा भने चट्याङको झिल्काले १४ वर्षीया इन्दिरा तामाङ घाइते भएकी छन्। उनी आफ्नै घरमा बसिरहेको बेला हातमा चोट लागी घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। अस्पतालमा उपचारका क्रममा उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
त्यसैगरी टेम्केमैयुङ गाउँपालिका–३, नाम्दालुङमा रुद्रबहादुर खत्रीको घर नजिकै परेको चट्याङले घर, सोलार र विद्युत् मिटर बक्समा क्षति पु¥याएको छ। सोही घटनामा छिमेकी भक्तबहादुर खत्रीकी श्रीमती ४६ वर्षीया कमला खत्री बेहोस भएकी थिइन्। उनलाई स्वास्थ्य चौकी अन्नपूर्णमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएको थियो। उनका बाहिरी चोट नभएको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ।
अरुण गाउँपालिका–१, देउरालीमा पनि चट्याङले ठूलो क्षति पुर्याएको छ। स्थानीय बुद्धदेव कोईरालाको घरदेखि करिब ३० मिटर पूर्व बिजुलीको पोलमा परेको चट्याङका कारण घरमा रहेको मिटर बक्स, मेन स्विच, वायरिङ, सोलार ब्याट्री र वाइफाइ राउटर जलेर नष्ट भएका छन्। सोही क्रममा उनकी श्रीमती ४८ वर्षीया सरिता कोईराला केही मिनेटका लागि बेहोस भएकी थिइन्। उनको अवस्था अहिले सामान्य रहेको र घटनाबाट करिब साठ्ठी हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यी सबै घटनामा प्रहरी टोली खटेर स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरिएको छ। वर्षायाममा यस्ता प्राकृतिक विपद् दोहोरिन सक्ने भन्दै स्थानीयहरूलाई सचेत रहन समेत प्रहरीद्वारा आग्रह गरिएको छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’